Section 28
भारी वा पोका खोल्न र जाँच्न सक्ने
(१) भन्सार अधिकृतले निकासी वा पैठारी हुने जुनसुकै मालवस्तुको भारी वा पोका एक एक गरी वा बीच बीचमा छड्के गरी वा केही प्रतिशत मात्र खोल्न र जाँच्न वा आफू मातहतका कुनै कर्मचारीलाई त्यसरी खोल्न र जाँच्न आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँच गर्दा जीवित जनावर, छिटो नाश हुन सक्ने वस्तुहरु र भन्सार अधिकृतले आवश्यक ठानेका अन्य मालवस्तु पहिले जाँच गर्नु पर्नेछ ।

(३) भन्सार अधिकृत वा निज मातहतको कर्मचारीले मालवस्तुको भारी वा पोका उपदफा (१) बमोजिम खोले जाँचेकोमा त्यसरी जाँचेको तरिका र अदतको स्पष्ट विवरण प्रज्ञापनपत्रमा उल्लेख गर्नु पर्नेछ ।

(४) यस दफा बमोजिम जाँच भएको वा नभएको भारी वा पोकाका सम्बन्धमा शङ्का लागेमा वा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा भन्सार अधिकृतले त्यस्तो भारी वा पोका जाँच नै नभएको भए जाँचबुझ गराउन वा जाँच भईसकेको भए पुनः जाँचबुझ गर्न आफू मातहतका कर्मचारीलाई आदेश दिन सक्नेछ ।

(५) निकासीकर्ता वा पैठारीकर्ताले आफ्नो उपस्थितिमा मालवस्तु जाँच गराउन चाहेमा सोको जानकारी लिखित रुपमा भन्सार अधिकृतलाई दिनु पर्नेछ । त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले त्यस्तो निकासीकर्ता वा पैठारीकर्ताको उपस्थितिमा मालवस्तुको जाँच गर्न वा गराउन सक्नेछ ।

तर भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभएमा निजको अनुपस्थितिमा नै मालवस्तुको जाँच गर्न वाधापर्ने छैन ।

(६) भन्सार अधिकृतले यस दफा बमोजिम मालवस्तु जाँच गर्दा वा गराउँदा पैठारीकर्ताले गरेको घोषणाका आधारमा लाग्ने महसुल असुल गरेर मात्र मालवस्तुको जाँच गर्न वा गराउन सक्नेछ ।

(७) उपदफा (६) बमोजिम जाँच गर्दा निकासीकर्ता वा पैठारीकर्ता वा निजको एजेन्टले गरेको घोषणा वा प्रज्ञापनपत्रसाथ संलग्न गरेको कागजातमा उल्लिखित विवरण बमोजिमको मालवस्तु नभई फरक परेमा त्यस्तो मालवस्तुको जाँच गर्नु अगाडि नै महसुल असुल भएको रहेछ भने पैठारीकर्ताले त्यस्तो महसुल फिर्ता वा लाग्ने महसुलमा मिलान गर्न पाउने छैन ।

(८) एकपटक जाँचपास भएको मालवस्तु निकासीकर्ता वा पैठारीकर्ताले भन्सार क्षेत्रबाट उठाई लैजानु अघि वा भन्सार क्षेत्र बाहिर लगिसकेपछि महानिर्देशकले खटाएको कुनै अधिकृत कर्मचारी वा सम्बन्धित भन्सार कार्यालयको भन्सार अधिकृतले पुनः पूरा वा आंशिक रुपमा जाँच गर्न वा गराउन सक्नेछ । त्यसरी जाँच गर्दा सोको कारणका बारेमा महानिर्देशक वा भन्सार अधिकृतले सम्बन्धित ०निकासीकर्ता वा पैठारीकर्तालाई जानकारी दिनु पर्नेछ ।